२०८१ श्रावण १२

२०२३–२०३२ लाई पर्यटन दशक घोषणा, सामाजिक सुरक्षामा एक खर्ब ५७ अर्ब बजेट
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १५, सोमबार १३:१० गते

काठमाडौं १५ जेठ ।।
जेष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि सरकारले एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०र८१ को प्रस्तावित बजेटमा यस्तो विनियोजन गरेका हुन्।
यता सरकारले सन् २०२३– २०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए ।
अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ ।
सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने जनाएको छ । त्यस्तै मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ। पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने समेत बजेटमा उल्लेख छ । सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ।
सामाजिक सुरक्षाका कार्यक्रममा ‘चालू आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिएको छु,’ उनले भने, ‘६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको छु।’

सरकारले छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बिमालगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ।

चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि एक खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष ०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए।