२०८१ आश्विन ७

सडक निर्माणको ढिलासुस्तीप्रति एमालेले गरायो ध्यानाकर्षण
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १८, बिहीबार १२:५५ गते

बुटवल, १८ जेठ ।
विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्तीबारे नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुधबार डिभिजन सडक कार्यालय बुटवलको ध्यानाकर्षण गराएको छ ।
डिभिजन सडक कार्यालय बुटवलमा डेलिगेशन जाँदै एमाले नगर कमिटीले निर्माणाधीन विभिन्न आयोजनाको काम छिटो सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराएको हो । चौराहा–गोलपार्क ६ लेन सडक, चौराहा–बेसक्याम्प सडक, तिनाउ दानव करिडोर, मगरघाट, हात्तीसुँढ र हरिहरपुरको पुल निर्माणपछिको व्यवस्थापनको कार्यलगायतका विभिन्न विकासे आयोजनाहरु निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै एमालेले निर्माणको कामलाई तीव्रता दिन आग्रह गरेको हो ।
त्यसक्रममा ज्ञापनपत्र बुझाउँदै एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले निर्माणाधीन सडक आयोजनाको काममा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको, राजनीतिक दलका नेता र जनप्रतिनिधिप्रति नकारात्मक भावना सिर्जना भएको भन्दै काममा हुने गरेका अवरोधलाई पन्छाएर छिटो निर्माण सक्नेतर्फ अघि बढ्न आग्रह गरे । “चौराहा–गोलपार्क सडक समयमै नबन्दा नागरिकले सास्ती पाएका छन् भने दलका नेता र जनप्रतिनिधिप्रति नै नागरिकको आक्रोश बढेको छ, त्यसैले बेलैमा नागरिकको भावना अनुसार काम अघि बढाउन हामी आग्रह गर्दछौं”–उनले भने । उनले बुटवलका अन्य सडक र पुलका आयोजनाहरुको काम पनि छिटो सक्न आग्रह गरे ।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बुटवलको सडकको ४८ प्रतिशत भौतिक प्रगति र २९ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिंदै अव असार मसान्तसम्म ६ लेन सडकको बीच भागमा कालोपत्रे र दुवैतर्फ नाली निर्माणको काम सक्ने जानकारी दिए । उनले सर्भिस लेनको काम भने त्यसपछि मात्रै अघि बढाइने बताए ।

उनले एमाले टोलीसमक्ष एक महिना भित्र दुबै तर्फको नाली क्लियर गर्ने, बीचको कालोपत्रेको भाग पहिलो लेयरको काम सक्ने, मुख्य सडकसँग जोडिएका सडक निकास सबै क्लियर गर्ने प्रतिवद्धता जनाएका थिए । काममा भएको ढिलासुस्तीले आम जनमानसमा अफ्ट्यारो र असहज परिस्थिति निर्माण भएको र आवागमनमा अप्ठेरो परेको र धुलो र खाडलको कारण तमाम ब्यवसायीहरु बिस्थापित भएकोले काम लाई छिटो छरितो गर्नुपर्ने, निर्माण क्षेत्रमा धुलो नउड्ने गरी पानी राख्नुपर्ने, काम गुणस्तरीय गर्ने विषयमा एमालेले डिभिजन सडकको ध्यानाकर्षण गराएको थियो ।

त्यस अवसरमा इन्जिनियर महेश्वर लम्सालले विभिन्न आयोजनाहरुको कामको प्रगतिबारे जानकारी गराएका थिए । डेलिगेशनमा एमाले बुटवल नगर कमिटीका पुर्व अध्यक्ष ज्ञानप्रसाद अर्याल, उपाध्यक्ष शोभाखर पोखरेल, सचिव मेघराज भट्टराईलगायत सहभागी थिए ।