२०८१ श्रावण १२

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १९, शुक्रबार १६:०३ गते

काठमाडौ,१९ जेठ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेकाे प्रकरणमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डाैले बयान लिएको छ ।  जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये अहिले थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । अब पर्सि आइतवारदेखि थुनछेक बहस सुरु हुने छ । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलले बहस सकेपछि प्रतिवादीका तर्फबाट अधिवक्ताले बहस गर्नेछन् । प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुनेछ ।

दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन् ।

आज शुक्रवार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको हो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० गते मुद्दा दायर गरेको छ । अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए ।