२०८१ श्रावण १२

वातावरण दिवसमा शान्ति समाजको कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २२, सोमबार १२:२८ गते

रुपन्देही, २२ जेठ ।
चुरे मास्न पाइदैँन ः पर्यावरण विरोधी नीति चाहिदैँन भन्ने आव्हानका साथ मानव अधिकार तथा शान्ति समाजले आज बिभिन्न कार्यक्रमको आयोजना गरि बिश्व वातावरण दिवश मनाएको छ । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई आग्रह गर्दै शान्ति समाजले चुरे दोहन गर्ने नीति तत्काल खारेज गर्न माग समेत गरेको छ ।
यसैबिच हिमालय र चुरे बचाउँ ः तराइलाई मरुभूमिकरण हुनबाट जोगाउँ भन्ने आह्वानसहित रुपन्देही जिल्ला शाखाले बुटवल २ पाखापानीस्थित बासुकी नाग मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
चुरेक्षेत्र दोहन गरि ढुंगागिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्वन गर्न थालेको घातक नीतिप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर चिन्ता व्यक्त गरेको उनले बताए । चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको उनले बताए । खनालले भने—बाह्य शक्तिको दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना नेपालको वातावरणिय र पर्यावरणीय सन्तुलनका हिसाबले अत्यन्तै आपत्तिजनक भएकोले त्यस्तो आत्मघाती काम नगर्न मानव अधिकार तथा शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
शान्ति समाजका केन्द्रिय सचिव मिना ढकालले वातावरण संरक्षणका लागि वनजंगल संरक्षण आवश्यक रहेको भन्दै बृक्षारोपण गरेर मात्र नभै यसलाई जोगाउने र हुर्काउने कुरा महत्वपुर्ण हुने धारणा राखिन् । केन्द्रिय सदस्य डिपि खनालले वातावरणको बिषय समग्र प्राणीजगत खासगरि मानव जगतको जिवनसँग जोडिएकोले वातावरण जोगाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिए । समाजका जिल्ला सभापति कृष्णप्रसाद भट्टराई, सचिव कृष्ण पाण्डेलगाएतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।