२०८१ आश्विन २९

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २५, बिहीबार १०:०८ गते

बुटवल,२५ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ। प्रधानमन्त्री प्रचण्डले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी बिहिबार औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका– ३ वसन्तपुरसम्म तीन किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

 


लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।
यसअघि गएको जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास गरिन्छ। केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ।

लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याउनेछ। आइएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ। लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए।
लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरूसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक प्रयासबाट प्राप्त माया, सदभाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।
रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा र्पुयाउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए।
अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।