२०८१ श्रावण १२

रुपन्देहीमा उद्योगी ब्यवसायीवीच बजेट छलफल
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २६, शुक्रबार १५:०३ गते

बुटवल, २६ जेठ ।
सरकारले प्रस्तुत गरेको बजेटका बारेमा रुपन्देहीमा उद्योगी ब्यवसायीवीच छलफल भएको छ । उद्योगी ब्यवसायीसग बजेट सम्वन्धमा सुझाव माग्ने तथा केही विषय सम्वोधन हुने गरेको भएपनि कार्यान्वयन पक्ष सन्तोष जनक नहुने गरेको छलफलमा सहभागीले बताए । कतिपयले राजश्वमुखी जस्तो बजेट देखिएको बताएका छन भने कतिपयले उद्योग क्षेत्रका समस्या समाधानका लागि उत्साहजनक नरहेको बताएका छन ।

रुपन्देही उद्योग संघले २०८०÷०८१ को बजेटले उद्योग व्यवसाय क्षेत्रमा पारेको प्रभावका सन्दर्भमा गरेको अन्तरक्रियामा संघका अध्यक्षिय परिषद्का संयोजक तथा पूर्व अध्यक्ष एजाज आलमले राज्यले उद्योगी व्यवसायीहरुसँग कर र राजस्व कसरी उठाउने कुरामा मात्र ध्यान दिएको तर उनीहरुलाई राहात र सुविधा दिने कुरामा सधै आँखा चिम्लने गरेको बताए । उनले राज्यको कतिपय गलत नीतिले स्वदेशी उद्योगहरु धराशाही हुने अवस्थामा पुगेको गुनासो गर्दै बजेट कार्यान्वयनमा राज्यको कमजोरीले उद्योग क्षेत्रको विकास हुन नसक्ने बताए ।
सरकारले बजेट मार्फत गर्ने कतिपय नीति र कार्यक्रमले कार्यान्वयनमा समस्यासँगै उद्योग क्षेत्रलाई अस्थिर बनाउने गरेको गुनासो उद्योगीहरुले राखे । उनीहरुले राष्ट्रको औद्योगिक विकासका लागि आवश्यक पर्ने नीति र कार्यक्रमलाई निश्चित अवधि र लक्ष्य बनाएर स्थायी प्रकारले अगाडी बढाउने कुरामा ध्यान दिनु पर्ने सुझाव पनि दिए ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सरकारले ल्याएको बजेट र त्यसले उद्योग व्यवसाय क्षेत्रमा पार्ने प्रभाव एवं नयाँ नीतिका बारेमा जानकारी लिने उद्देश्यले अन्तरक्रिया गरेको बताए ।
उनले सरकारले बजेट तर्जुमा गर्दा राय सल्लाह लिने गरेको भए पनि उद्योगका समस्या समाधानका लागि बजेटमा उत्साहजनक विषयहरु नराख्ने गरेको भन्दै छिटोछिटो नीतिमा गरिने परिवर्तन र साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा कार्यक्रमहरु नराखिने प्रवृति यस पटक पनि कायमै रहेको धारणा राखे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, महासचिव हरिबहादुर खत्री, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ, रुपन्देहीका सचिव सिए सगुन खनाल, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ, रुपन्देहीका अध्यक्ष प्रदिप भट्टराईलगायतले बजेटका सम्वन्धमा धारणा राखेका थिए ।
उद्योग वाणिज्य संघमा बजेट सम्वन्धी छलफल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा आर्थिक विधेयक र आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि सरकारले ल्याएको बजेटका विषयमा छलफल कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य उज्ज्वलप्रसाद कसजूले बजेटमा करको दर र दायरा बढाएको हेर्दा सरकारले राजश्वमूखी बजेट ल्याएको देखिएको बताए । जसका कारण आर्थिक बृद्धिको लक्ष्यमा पुग्न पनि कठिन हुने उनको भनाई छ ।
उनले बजेटमा कतिपय आफूहरुले उठाएका कुराहरु पनि समवेश भएको भन्दै उनले मुलुकको अर्थतन्त्रको विकासको लागि औद्योगिक विकास आवश्यक भएको बताए । नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीका अध्यक्ष प्रदिप भट्टराईले विगत तीन वर्षको बजेटसंग अहिलेको बजेटलाई तुलना गर्दा अन्तशुल्क र मुल्य अभिबृद्धि करमा व्यापक परिवर्तन भएको बताए । त्यस्तै आर्थिक विधेयकमा व्यवस्था गरिएका कतिपय कुराहरु अलमल्याउने खालका रहेको भन्दै उनले त्यस्ता कुराहरुलाई समाधान गर्न निजी क्षेत्रका छातासंस्थाहरुले भूमिका खेल्नुपर्ने बताए ।
संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजूले सरकारले उद्योगी व्यवसायीलाई च्याप्ने र निचोर्ने काम गरेको आरोप लगाए । कार्यक्रममा संघका महासचिव बिमलराज भट्टराई, नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीका कोषाध्यक्ष सगुन खनालले बजेटका बारेमा चर्चा गरेका थिए ।