२०८१ आश्विन २९

दाङमा प्रचण्डले भने–फेरि नयाँ नेकपा बनाउँछौँ
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३१, बुधबार ०८:१२ गते

दाङ ३१ जेठ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्ने गरी पहलकदमी लिइएको बताएका हुन् ।

‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठुलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो ।’

फेरि नेकपा बनाउने कोसिस भइरहेको जानकारी दिँदै उनले थप भने, ‘यसभित्र ठुलो अर्थ छ। जनताको ठुलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी छ। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ । हाम्रो क्रान्ति मौलिक र जीवन्त छ। हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गर्‍यौँ। हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ ।’

माओवादी केन्द्रको आठौँ महाधिवेशनको दस्ताबेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरिएको र यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको भन्दै अध्यक्ष प्रचण्डले भने, भ्रष्टाचारलाई निर्मूल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनर्निर्माण गर्न सकिन्छ। भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौँ। नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पु¥याउँछौँ। भ्रष्टाचारका नयाँ फाइलहरू खोल्छौँ ।’

प्रशिक्षणमा नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, नेताहरू दामा शर्मा, जोखबहादुर महरा लगायतको उपस्थित थियो ।