२०८१ श्रावण १२

किन ओझेलमा छ ‘बटौली’ ?
  • लुम्बिनी खोज
  • २०७८ पुष १०, शनिबार १६:०० गते

बुटवल, १० पुस ।
पश्चिम नेपालको मुख्य ब्यापारीक केन्द्र बुटवलको खस्यौली बजार पछिल्ला वर्षहरुमा चम्किदै गएको छ । बुटवलमा अर्थात खस्यौलीमा चमक ल्याउने ऐतिहासिक बटौली बजारको विकास तथा प्रवद्र्धनमा पछिल्ला वर्षहरुमा ध्यान पुगेको छैन । यस्तो अवस्थामा बटौलीको विकासका बारेमा अन्तरक्रिया गरिएको छ । वषौं अगाडीको ब्यापारीक केन्द्र बटौलीको संरक्षण गरी विकास गर्न सके बुटवलको विकासमा थप योगदान पुग्ने अन्तरक्रियामा जोड दिइएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने पुरानो बुटवल (बटौली)को बिकास तथा प्रवद्र्धन र त्यसका माध्यमबाट यहाँको आर्थिक गतिबिधिलाई चलायमान कसरी गराउन सकिन्छ भन्ने विषयमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले शनिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवलको लागि ‘बटौली’ ऐतिहासिक महत्वको भएकाले त्यसको संरक्षण, बिकास र प्रवद्र्धन गर्न सकियो भने त्यसका माध्यमबाट त्यहाँको आर्थिक गतिबिधि बढाउन सकिन्छ भन्ने मान्यताका साथ संघले त्यसको संरक्षण र विकासको लागि पहल तथा पैरवी गरिएको बताए ।
वषौं अगाडीनै पश्चिम नेपालका धेरै जिल्लाको व्यापारको केन्द्र बनेको थियो बटौली । पहाडी जिल्लाबाट त्यहाँ उत्पादन हुने घ्यु, अदुवा, बेसार लगायतका जडिबुटीजन्य उत्पादन ल्याउँथे भने बटौलीबाट नुन, लत्ताकपडा लगायतका बजार गरेर फर्किन्थे ।
तत्कालिन पाल्पा राज्यका सेन बंसीय राजा मणिमुकुन्द सेनको दरवार पनि त्यसै क्षेत्रमा थियो । जहाँ अहिले फूलवारी (मणिमुकुन्द उद्यान) बनेको छ । त्यसभित्र अहिलेपनि मणिमुकुन्द सेनको दरवारको भग्नावसेस छ ।
नेपालमाथि अग्रेजले गरेको आक्रमणमा जीत हात पारेको गढि किल्ला पनि त्यसै क्षेत्रमा पर्दछ । ऐतिहासिक महत्वको बटौली बजारको चहल पहल खस्यौलीमा सरेपछि त्यस क्षेत्र ओझेलमा पर्दै गएको छ । ऐतिहासिक महत्वको बटौलीको विकास र संरक्षण गरे समग्र बुटवलको विकासमा टेवा पुग्नेमा सहभागिले जोड दिए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, महिला उद्यमी सृष्टि गुरुङ, बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा बटौली प्रवद्र्धन समितिका संयोजक प्रतिक पोखरेल लगायतले ऐतिहासिक बटौलीको संरक्षण र त्यस क्षेत्रको विकासमा जोड दिएका थिए ।