२०८१ श्रावण १२

प्रधानमन्त्री प्रचण्ड र नेता भट्टराईबीच समाजवादी मोर्चा निर्माणबारे छलफल
  • लुम्बिनी खोज
  • २०८० असार १, शुक्रबार ०८:४४ गते

बुटवल, १ असार ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समाजवादी मोर्चा निर्माणबारे छलफल भएको छ। शुक्रबार बिहान भएको प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टिआरसीलगायतका शान्तिप्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको भट्टराईले जानकारी दिए।

डा. भट्टराईका अनुसार दुई नेताबीच देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ११ बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह !’

समाजवादी मोर्चाको नेतृत्व आलोपालो, तल्लो तहसम्म संरचना

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधार टुंगो लागेको छ ।

सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । ‘मोर्चामा सहभागी दलको नेताहरुले आलोपालो नेतृत्व गर्ने टुंगिएको छ, तर यसलाई अन्तिम रुप दिन बाँकी छ’, जसपाका नेता राजेन्द्र श्रेष्ठ भन्छन् । श्रेष्ठका अनुसार, तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति जुटेको ब्रिफिङ पार्टी नेताहरुलाई दिएका छन् । ‘पार्टी अध्यक्षले मोर्चाको मोडालिटीबारे जानकारी दिनुभएको छ, अब चाँडै मोर्चा घोषणा हुन्छ’, प्रवक्ता जगनाथ खतिवडाले भने ।

आलोपालो नेतृत्व र तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको ब्रिफिङ शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष नेपालले गरेका थिए । अध्यक्ष नेपालले दिएको जानकारी अनुसार, मोर्चाको केन्द्रीय सचिवालय बन्नेछ । यही मोडेल तल्ला कमिटीहरुमा पनि लागू हुनेछ ।

‘सबै पार्टीको अस्तित्व कायमै रहन्छ, पार्टीगत कार्यक्रम हुन्छ । तर साझा उद्देश्यमा एकठाउँ हुन्छौं’ जसपाका नेता श्रेष्ठ भन्छन्, ‘अरु देशहरुमा पनि प्रगतिशील र क्रान्तिकारी शक्तिहरुले एकीकृत मोर्चा बनाउँछन्, हामीले त्यस्तै बनाउने हो ।’
श्रेष्ठका अनुसार, मोर्चाको सैद्धान्तिक उद्देश्य पनि टुंगिएको छ । ‘हाम्रो उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हुनेछ’, श्रेष्ठ भन्छन् ।

गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना साझा संकल्प हुने श्रेष्ठ बताउँछन् । ‘मौलिक विशेषताको समाजवाद स्थापना गर्न त्यही अनुसारको अर्थ–राजनीतिक कार्यक्रम आवश्यक हुन्छ, त्यसैले प्रगतिशील र क्रान्तिकारी शक्तिहरुको साझा मोर्चा आवश्यक परेको हो’, श्रेष्ठ भन्छन् ।

यो मोर्चामा नेत्रविक्रम चन्द विप्लव र वामदेव गौतम पनि सहभागी हुने तयारी छ । ‘विप्लव आउने कुरा भइसकेको छ, बामदेवसँग कुरा चलिरहेको छ’, एक नेताले भने । यदि यी नेता थपिएमा यो मोर्चा पाँच दलीय हुनेछ ।