२०८१ श्रावण १२

जिम्बावे आठ विकेटले विजयी
  • लुम्बिनी खोज
  • २०८० असार ३, आईतवार १७:५१ गते

बुटवल ३ असार ।
जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपाललाई आठ विकेटले पराजित गरेको छ। कप्तान क्रिग इर्भाइन र सेन विलियम्सले शतकीय इनिङले जिम्बावेलाई जितका लागि सहज भएको हो ।

समूह ‘ए’अन्तर्गतको पहिलो खेलमा नेपाल र जिम्बावे भिडेका थिए। जितका लागि पाएको दुई सय ९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

इर्भाइनले एक सय २८ बलमा १५ चौका र १ छक्काको मद्दतमा एक सय २१ रन बनाए। सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको मद्दतमा एक सय दुई रन बनाए। दुवै अविजित रहे। तेस्रो विकेटका लागि दुवैबीच एक सय २५ बलमा एक सय ६४ रनको साझेदारी बनेपछि जिम्बावेको जित सुनिश्चित बनेको हो।
त्यसअघि हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो।