२०८१ श्रावण १२

स्वास्थ्य बीमाका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन
  • लुम्बिनी खोज
  • २०८० असार १३, बुधबार १६:२४ गते

बुटवल,१३ असार ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकपछि समितिका सभापति प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यक्रमा देखापरेका नीतिगत, व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा, औषधि, आपूर्ति तथा उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्था गरी सबै स्थानीय तहहरूमा पहुँच बिस्तार गर्न सरकारलाई निर्देशन दिए ।

समितिले सुर्तीजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रम खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । समितिले मानसिक स्वास्थ्य उपचारका सम्बन्धमा मनोसामाजिक परामर्शदाता, स्वास्थ्य विशेषज्ञ सेवा बिस्तार गर्न, शिक्षाका पाठ्यक्रममा समावेश गर्न, र विभेदजन्य शब्द र प्रावधानलाई हटाउन उपयुक्त कानुनी/नीतिगत व्यवस्था गर्न निर्देशन दिएको छ ।

समिति सभापति पन्थले दिगो विकास लक्ष्य प्राप्तिका लागि निर्धारण भएका सूचकहरूमा प्रगति हासिल गर्नेगरी नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधार गर्न निर्देशन दिए ।