४ जेष्ठ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशको बजेट : विपक्षी दलको विरोधले छलफल अगाडि बढ्न सकेन
  • लुम्बिनी खोज
  • १३ असार २०८०, बुधबार १६:५०

बुटवल,१३ असार ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभामा प्रस्तुत गरेको करिब दुई हप्तापछि बुधबारका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको छ।

बुधबार निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकको प्रारम्भमै नेकपा (एमाले) ले बजेटउपर विरोध जनाएपछि छलफल नै नगरी बैठक १७ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि असार १० गते छलफलका लागि आह्वान गरिएको बैठक बजेटमा सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको हो।

प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो। एमालेले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटप्रति प्रदेशसभाको बुधबारको बैठकमा विरोध जनाएका कारण सभामुख तुलाराम घर्तीले पहिलो बैठक केही समयका लागि स्थगित गरेका थिए।

बुधबारको पहिलो बैठकपश्चात् पनि दलबीच सहमति जुट्न नसकेकाले बैठक सूचना जारी गरेर स्थगित भएको छ। प्रदेशसभाको आगामी बैठक असार १७ गते हुने सूचनामा जनाइएको हो।