२०८१ माघ ३
बुटवल २५ असार ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल मर्मत सम्भार पछि आफ्नै भवनबाट औपचारिक रुपमा सेवा सुरु गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराए ।
६ वर्ष अघि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल लुम्बिनी प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी दाङको देउखरीमा राख्ने निर्णय गरेपछि गत मंसिरमा प्रदेश सभा स्थायी राजधानी दाङको देउखुरीमा सर्यो भने चैतको अन्त्यमा प्रदेश सभा सचिवालयले भवन तथा सभाहल संघलाई फिर्ता हस्तान्तरण गरेको थियो ।
प्रदेश सभा सचिवालयले भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि संघले भवन तथा सभा हल मर्मत सम्भार गरेर आफ्नै भवनबाट सेवा सुरु गरिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि यस क्षेत्रको बिकासको आशा र सरकारलाई सहयोग गर्ने गरी संघको कार्यालय भवन तथा सभाहल प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको उनले बताए ।