२०८२ कार्तिक २५
बुटवल ८ साउन ।
सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी सय रुपैंया भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघ लगायत यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुको पहलमा हालैदेखि भन्सारमा कडाई गरिएको थियो ।
सिमानाकामा कडाई गरेपछि सिमावर्ती नेपाली बजार पनि गुल्जार हुन थालेको र सरकारको राजश्व असुलीमा पनि प्रगति भएको भन्दै बुटवल उद्योग वाणिज्य संघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर सिमानाका कडाईलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बिगतदेखी गरिएको पहल तथा पैरबीका कारण भन्सार बिन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी पछि स्थानीय बजारमा सकारात्मक असर देखिन थालेको बताए । व्यवासयीका अनुसार भन्सारमा कडाई गर्न सुरु भएपछि बुटवल बजारमा कपडाको व्यापारमा ३५ प्रतिशत तथा कस्मेटिक तथा मोटरपार्टसमा १० प्रतिशतले व्यापारमा बृद्धि भएको उनले बताए । त्यस्तै अन्य बस्तुको व्यापारमा पनि तुलनात्मक रुपमा बृद्धि भएको कसजुको भनाई छ ।
कतिपय सिमा क्षेत्रका व्यक्तिको भन्सार नाका खुकुलो बनाउनु पर्ने धारणा आएपछि संघले सरकारलाई दवाव दिन पत्रकार सम्मेलन गरी संस्थागत धारणा प्रष्ट पारेको हो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सरकारले आफ्नो मुख्य स्रोतको बृद्धि सुनिश्चित गर्न तथा स्थानीय उत्पादन र व्यवसायीलाई बलियो गराउनको लागि पनि भन्सार कडाई गर्ने नीतिलाई निरन्तरता दिनुपर्ने बताए ।
संघका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठले देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जानुपर्ने बताए । सीमामा अनुगमन तथा निगरानी बढाउन संघका महासचिव विमराज भट्टराईले आग्रह गरे ।