२०८१ श्रावण १२

बुटवलको सरसफाइ र वृक्षरोपणमा उत्साहजनक सहभागिता
  • लुम्बिनी खोज
  • २०८० श्रावण १९, शुक्रबार १०:५५ गते

बुटवल १९ साउन ।
बुटवल उपमहानगरपालिकाको ४५ दिने सरसफाइ तथा वृक्षरोपण कार्यक्रमअन्तरगत शुक्रबार राजमार्ग चौराहादेखि अस्पताल लाईनसम्म सरसफाइ तथा वृक्षरोपण गरिएको छ ।
कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सामाजिक तथा पेशागत संस्थाहरु, सामाजिक अगुवाहरु, सर्वसाधारणहरुको सहभागितामा सो क्षेत्रको फोहोर संकलन तथा व्यवस्थापन गरी वृक्षरोपण गरिएको छ । कार्यक्रमका क्रममा बोल्दै उपमहानगर प्रमुख पाण्डेयले बुटवल सफा र सुन्दर भएमा यसको लाभ सबैलाई हुने भएकाले आफ्नो नगर, टोल र घर सफा राख्न सबैले चासो दिनुपर्ने बताए । ’बुटवल सफा हुँदा यहाँका बासिन्दा, व्यापारी, व्यवसायीदेखि सबैलाई लाभ हुन्छ यहाको प्रगतिमा यसले सकारात्मक प्रभाव पार्छ–उनले भने–सरसफाइ र हरियालीले हाम्रो स्वास्थ्य राम्रो हुन्छ, यसर्थ यो अभियान बुटवलबासी सबैका लागि हो, जो जसले जति सकिन्छ त्यति सहयोग गरौं।’
उनले सामाजिक संघसंस्थाहरुले सरसफाइ र वृक्षरोपणलाई अरु बढी प्रभावकारी हिसाबले अगाडि बढाउदै संरक्षणमा पनि चासो दिनुपर्ने भन्दै नगरले आह्वान गरेको अभियानमा संघसंस्था तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको र यसले बुटवललाई स्वच्छ, सफा र सुन्दर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल सफा भएमा बुटवलको सबै क्षेत्रलाई फाइदा हुने भन्दै सरसफाइ र वृक्षरोपण अभियानमा सहभागी हुन सबैलाई आह्वान गरिन ।
अभियानअन्तरगत हरेक दिन २० जनाले सरसफाइ र वृक्षरोपणलाई व्यवस्थित गर्ने र मसिनो गरी सफा गर्ने तथा हरेक शुक्रबार जनप्रतिनिधि र सामाजिक संस्थाहरुको सहभागितामा सफाइ र वृक्षरोपण गर्ने कार्यक्रम रहेको सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले बताए ।