२०८१ श्रावण १२

बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सेर सेवा निःशुल्क
  • लुम्बिनी खोज
  • २०८० श्रावण १९, शुक्रबार ११:५६ गते

बुटवल १९ साउन ।
बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट उपमहानगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरे ।
उनले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए । उनले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने पनि बताए ।
उपमहानगर प्रमुख पाण्डेयले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको भन्दैे चालु आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरु सञ्चालन गर्ने कार्यक्रम रहेको जानाकारी पनि गराए ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको धारणा राखे । अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको शहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरुबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए ।
बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने भन्दै उनले सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा निशुल्क सेवा दिने गरी तयारी भइरहेको पनि बताए ।