२०८१ श्रावण १२

गृहमन्त्रीको जवाफलगत्तै एमालेद्वारा संसद् अवरुद्ध, बैठक स्थगित
  • लुम्बिनी खोज
  • २०८० श्रावण २३, मंगलवार १३:४९ गते

काठमाडौँ २३ साउन ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक मंगलवार पनि अवरुद्ध गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफलगत्तै एमालेले संसद् अवरुद्ध गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले जवाफका क्रममा ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई विश्वास गर्न आग्रह गरे थिए।
विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिए पनि निष्कर्षमा पुग्न नसके धारणा पनि राखे । ७९९९ किलो सुन भित्रिएको भनिएपनि १ तोला सुन समेत पत्ता लगाएको भन्दै उनले राज्यको संयन्त्रलाई जिम्मा दिनुपर्ने बताए ।
संगठित अपराधमा अनुसन्धानका लागि जम्मा ६० दिन समय हुने भन्दै उनले त्यसमध्ये २० दिन राजश्व अनुसन्धान विभागले लिएको बताए । बाँकी ४० दिनमध्ये ५ दिन सरकारी वकिललाई चाहिने भन्दै उनले भने, ‘सीआईबीले ३५ दिन काम गर्न पाउँछ । यो समयमा उसले नेक्सस पत्ता लगाउँछ र दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनसक्छ भन्ने हामीलाई विश्वास छ ।’

गृहमन्त्रीको जवाफ पछि एमालेले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीलाई अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यसूचीलाई अगाडि बढाउने भनेपछि एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद्को बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।