२०८१ श्रावण १२

क्विन्टल भनिएको सुन गालेपछि ६० किलो ७१६ ग्राम
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३०, मंगलवार १०:३२ गते

काठमाडौं ३० साउन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन ब्रेकसुबाट निकालेर गालेपछि जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । सुन बरामद भएपछि करिब एक क्वीन्टल बरामद भएको भनिएको थियो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।
गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।गत ३ साउनमा त्रिभुवन विमानस्थलबाट तस्करी गरी भित्रिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।