२०८१ श्रावण १२

कोशीमा मुख्यमन्त्री थापाले पाए विश्वासको मत
  • लुम्बिनी खोज
  • २०८० भाद्र ४, सोमबार १२:३२ गते

बुटवल ४ भदौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्। प्रदेश सभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका हुन् । उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।
कोशीमा ९३ जना सांसदमध्ये ७७ जना आज उपस्थित थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत प्राप्त भएको हो। मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरेर सुनाए। प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गरेका थिए ।
बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव राखे । उनको प्रस्ताव पछि सत्तारुढ दलका साथै विपक्षी एमालेका नेताहरुले बोले । मुख्यमन्त्री थापाले जवाफ दिएपछि मन्सुरीले मतदान प्रक्रिया सुरु गरे ।
मतदान सकिएपछि मत सच्याउन तीन मिनेट समय तोकेका मन्सुरीले अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न आग्रह गरे र, आफू मतदानका लागि गए ।
प्रमुख प्रतिपक्षी एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका थिए । मन्सुरी मत दिएर पुनः बैठकको अध्यक्षता गर्न गए र मत गणना गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।गणनापछि उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो।
उपसभामुख सिर्जना दनुवार आज बिहानै काठमाडौं गएकी थिइन्। उनले बैठक चलाउने जिम्मा कांग्रेस सांसद मन्सुरीलाई दिएकी थिइन्। ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाए र मतदानमा समेत सहभागी भएका छन्।

यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।