२०८१ श्रावण १२

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ
  • लुम्बिनी खोज
  • २०८० भाद्र १३, बुधबार १०:४६ गते

काठमाडौ,१३ भदौ ।

सुन तस्करी प्रकरणमा नाम जोडिएका  राहुल पक्राउ परेका छन्। भेप (विद्युतीय चुरोट)मार्फत सुन तस्करी गरेको आरोप लागेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँस्थित निवासबाटै पक्राउ गरेको हो ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् । चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन् ।