२०८१ श्रावण १२

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी
  • लुम्बिनी खोज
  • २०८० भाद्र २०, बुधबार ०८:५१ गते

बुटवल २० भदौ ।
नेकपा एमालेको लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । कँडेल प्युठानका हरि रिजाललाई दुई मतले हराउँदै विजयी भएका हुन् ।

कँडेलले चार सय ७९ मत ल्याएर विजयी भए भने रिजालले चार सय ७७ मत ल्याए । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका एक हजार पाँच प्रतिनिधिमध्ये नौ सय ६५ जनाले मतदान गरेका थिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेलनिकटका हुन् ।

कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । एमालेको प्रदेश अधिवेशनअन्तर्गत सुरुमै लुम्बिनीमा गर्न लागिएको पहिलो प्रदेश अधिवेशनमा सहमति प्रयास असफलपछि एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व मतदानबाट टुंगो लागेको हो ।

अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लीला रानामगर निर्वाचित भएका छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा रोल्पाका बुढामगर मात्र रिजाल प्यानलका हुन् ।

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

उपाध्यक्षमा निर्वाचित कँडेल पक्षका श्रेष्ठले चार सय ५५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा रुपन्देहीका विश्वराज बरालले तीन सय ६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । बराल रिजाल समूहका हुन् । अन्य दुईजनाले छुट्टै उम्मेदवारी गरेर प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै, उपसचिव खुलामा बुढामगर चार सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले तीन सय ९३, रोल्पाका उपेन्द्रलाल कामीले एक सय १० मत ल्याएका थिए । चौधरी कँडेल प्यानलबाट निर्वाचन लडेका थिए ।

महिला उपसचिवमा लीला रानामगर तीन सय ५२ मत ल्याएर विजयी भएकी छिन् । उनले रिजाल समूहकी वसन्ती अधिकारीलाई एक मतले पराजित गरेकी हुन् । अधिकारीले तीन सय ५१ मत ल्याएकी छिन् ।

यस्तै, लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । उनले रिजाल समूहका विष्णुराज बिसीलाई दुई सय सात मत अन्तरले पराजित गरे । लेखा समितिको उपाध्यक्षमा वैकुण्ठ महत निर्विरोध निर्वाचित भए । मतदानमा नौ सय ६५ मत खसेको थियो । अधिवेशनमा कुल एक हजार चारजना मतदाता रहेकोमा नौ सय ६५ मत खसेको थियो ।

पौडेल र पोखरेलनिकटका उम्मेदवार चुनावी मैदानमा उत्रिएकाले लुम्बिनी प्रदेश अधिवेशनलाई एमालेका दुई शीर्ष नेता पौडेल र पोखरेलको शक्ति परीक्षणका रूपमा समेत लिइएको थियो । रुपन्देही पौडेल र दाङ पोखरेलको गृहजिल्ला हो ।