२०८१ श्रावण १२

पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २७ भदौदेखि लगाइँदै
  • लुम्बिनी खोज
  • २०८० भाद्र २२, शुक्रबार १०:१९ गते

बुटवल २२ भदौ ।
पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २७ भदौदेखि लगाइने भएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट ‘डेमो’का रूपमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो ।
प्रसूति अस्पतालमा बागमती प्रदेशभित्रका सीमित बालिकालाई खोप दिइनेछ । पहिलो चरणमा ल्याइएको २० हजार डोज खोप बालिकालाई परिचयपत्रका आधारमा दिन लागिएको हो । तर, दोस्रो चरणमा गाभी कम्पनीको खोप ल्याउने प्रक्रिया अघि बढेकाले १० देखि १४ वर्षसम्मका बालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
काठमाडौंमा २७ भदौमा यो खोप लगाउने मिति तोकिए पनि अन्य ठाउँको मिति भने तोकिएको छैन । तर, उद्घाटन भएको केही दिनमै प्रदेशहरूमा खोप कार्यक्रम सुरु हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । हाल १४ वर्ष उमेर समूहका मात्रैलाई खोप दिने हो भने पनि तीन लाख ५० हजार डोज खोप चाहिन्छ । तर, कम्पनीले यो खोप सीमित उत्पादन गर्ने र यसको विश्वभरि नै माग भएकाले थप खोप ल्याउन समय लाग्ने विभागले जनाएको छ । एक वर्षभित्र भने १० वर्षदेखि ३० वर्षसम्मकालाई खोप दिने लक्ष्य राखिएको छ ।