२०८१ श्रावण १२

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले दिए नेम्वाङलाई श्रद्धाञ्जली
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार ०९:४३ गते

काठमाडौ,२६ भदौ ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्रीसँगै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्न च्यासल पुगेका छन्।

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छिन्। यस्तै, पार्टी अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे।

यस्तै, नेम्वाङलाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष एवं अन्य दलका नेताहरू तथा कार्यकर्ताले पनि च्यासल पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेताका साथै विभिन्न दलका नेताहरु र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।