२०८१ श्रावण १२

सरकारले भन्सार छुटमा २० हजार टन चिनी आयातको निर्णय
  • लुम्बिनी खोज
  • २०८० भाद्र २७, बुधबार १०:०९ गते

साल्ट ट्रेडिङले १० हजार र खाद्य कम्पनीले १० हजार टन ल्याउने

काठमाडौँ २७ भदौ ।
सरकारले चाडपर्वलाई लक्षित गरेर २० हजार टन चिनी भन्सार छुटमा ल्याउने भएको छ। सो परिमाणको चिनी ल्याउन अर्थ मन्त्रालयले ५० प्रतिशत भन्सार छुट दिएको छ ।
बजारको आपूर्ति अवस्थालाई दृष्टिगत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ६० हजार टनको प्रस्तावमा अर्थ मन्त्रालयले २० हजार टनको स्वीकृति दिएको हो । अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्ने भएको छ । चिनी आयात गर्दा भन्सार महसुल ३० प्रतिशत तिर्नुपर्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भन्सार महसुल छुट हुँदा निजी क्षेत्रले बिक्री गर्नेभन्दा सस्तो पर्छ । सरकारका तर्फबाट आयात हुँदा बजारमूल्य हस्तक्षेप गर्न सजिलो हुने आपूर्ति मन्त्रालयका अधिकारी बताउँछन् ।
विगतमा चाडबाडलाई लक्ष्य गरी सरकारी संस्थानलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात अनुमति दिने चलन थियो । पछि १ प्रतिशतबाट बढाएर ५० प्रतिशतमा पुर्‍याइयो । पछिल्ला दुई वर्षमा छुटमा आयात स्वीकृति आएन । यसपालि फेरि ५० प्रतिशत छुटमा २० हजार टन आयातको स्वीकृति दिइएको हो ।

चाडबाडमा महँगी बढ्ने हुँदा मूल्य हस्तक्षेप गर्न छुटको चिनी आयात जरुरी रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । वाणिज्य मन्त्रालयका अनुसार अर्थले दुई वर्षपछि भन्सार महसुल छुटमा चिनी आयातको निर्णय गरेको हो ।