२०८१ श्रावण १२

बुटवलमा सरसफाइको नयाँ कार्ययोजना बनाइने
  • लुम्बिनी खोज
  • २०८० भाद्र २९, शुक्रबार ०९:४८ गते

 

बुटवल २९ भदौ ।
बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ । साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो ।
मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक र अन्य क्षेत्रहरु नियमित सरसफाइ गर्ने गरी नयाँ कार्ययोजना ल्याउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । हरेक शनिबार टोलटोलमा टोल विकास संस्थाहरुको अगुवाइमा अभियान सञ्चालन भइरहने र मुख्य सार्वजनिक स्थलहरुको सरसफाइका लागि थप व्यवस्था गर्ने उनले बताए ।
उनले नगरलाई सफा राख्नका लागि सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नगर सफा भएमा नगर र नगरबासीको इज्जत बढ्ने बताए ।
उनले सबै सामाजिक संस्थाहरुले बुटवललाई सफा र हरियाली बुटवल बनाउनका लागि साथ दिनुपर्ने बताउँदै सबैको सहयोगले मात्रै नगर सफा र सुन्दर बन्ने पनि बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई सफा र हरियाली बनाउनका लागि घरदेखि नै कामको थालनी गर्नुपर्ने बताइन् ।
४५ दिने अभियान पूरा भएपनि अभियानका क्रममा रोपिएका विरुवाको रेखदेख, मरेका वा नास भएका विरुवाका ठाउँमा बिरुवा लगाउने र सफा गर्न बाँकी रहेका स्थानमा नगरका कर्मचारीले सफा गर्ने सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।