२०८१ कार्तिक ६

साउनमा मूल्यवृद्धि ७.५२ प्रतिशत
  • लुम्बिनी खोज
  • २०८० भाद्र ३१, आईतवार १५:३३ गते

काठमाण्डौं ३१ भदौ ।
चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.४२ प्रतिशतबराबर रहेको छ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११.४६ प्रतिशतबराबर रहेको छ। त्यस्तै, काठमाडौं उपत्यकामा ८.५०, तराईमा ६.७० र पहाडमा ७.५० प्रतिशत मूल्यवृद्धि देखिएको छ।

गत साउन महिनामा आयात १.६ प्रतिशतले, निर्यात ८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। त्यस्तै, विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५.८ प्रतिशतले बढेर रु एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ।

चालू आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति रु ३२ अर्ब ९० करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति रु १५ खर्ब ७३ अर्ब १२ करोडबराबर रहेको छ।

साउन महिनामा सरकारको खर्च रु ३५ अर्ब चार करोड र राजस्व परिचालन रू ७८ अर्ब ८७ करोड रहेको छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय २.४ प्रतिशतले घटेको छ। वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १०.८ प्रतिशतले बढेको छ ।