२०८१ श्रावण १२

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित
  • लुम्बिनी खोज
  • २०८० आश्विन १०, बुधबार ०८:४० गते

बुटवल १० असोज ।
पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मंगोलियासित विश्व कीर्तिमानी जित निकालेको छ ।चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले बुधवार मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो ।
टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रनमात्र बनाउन सकेको थियो । मंगोलियाका एक ब्याट्सम्यानले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । मंगोलियाका दाबासुरेनले सर्वाधिक १० रन बनाए । मंगोलियाले अतिरिक्त रूपमा २३ रन पायो ।
जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियालाई सस्तोमा समेट्न नेपाली टोलीका बलर अविनाश बोहरा, करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक एक विकेट हात पारे ।

नेपालले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको थियो । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो ।

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो ।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए ।कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए ।