२०८१ कार्तिक ६

माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा
  • लुम्बिनी खोज
  • २०८० आश्विन १४, आईतवार ११:३९ गते

बुटवल १४ असोज ।
माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।
नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो ।
माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।
टी२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए ।

माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।