२०८१ कार्तिक १७

बुटवलको पशु बधशाला सञ्चालनबारे छलफल
  • लुम्बिनी खोज
  • २०८० आश्विन २६, शुक्रबार १३:१३ गते

 

बुटवल २६ असोज।
बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे छलफल भएको छ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे छलफल भएको हो।

बधशालाको ठेक्का प्रक्रियामा यहाका व्यवसायीहरुको असन्तुष्टि सार्वजनिक भएको अवस्थामा बुटवल उपमहानगरपालिकाले सरोकारवालालाई बोलाएर छलफल गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बधशाला कानुनी प्रक्रियाअनुसार सञ्चालनको चरणमा रहेकाले सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताए। उनले बुटवलबासीको स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, मुक्तिनाथ लाइभस्टक लिमिटेडका प्रतिनिधि सन्तोष अधिकारी, मासु व्यवसायी विशाल थापा, पशु क्वारेन्टाइन भैरहवाका डा भक्त निउरे, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीलगायतले पशु बधशालाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच भदौ ३१ गते सम्झौता भएको थियो।

सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमै बधशाला सञ्चालनमा ल्याउनेछ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भएपनि विधि र प्रक्रिया नपुगेको भन्दै उपमहानगरपालिकाले गत असारमा पुनः टेण्डर आह्वान गरेको थियो।
मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ। पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको छ।

सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही गर्ने सम्झौतामा उल्लेख छ। बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन्।

बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित भइसकेको छ। ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।

झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ।

यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको छ।