२०८१ श्रावण १२

भारतीय हस्तक्षेप बढ्योः चित्रबहादुर केसी
  • लुम्बिनी खोज
  • २०८० आश्विन २६, शुक्रबार १३:२७ गते

बुटवल, २६ असोज ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमाथि भारतीय हस्तक्षेप बढेको बताएका छन् । अन्तर्राष्ट्रिय कुटनीतिक मर्यादा र शिष्टाचारको पालना नगरी नेपालको भू–भागमा भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालमाथिको ठाडो हस्तक्षेप भएको धारणा केसीको छ ।


नेपाललाई आधिकारिक रुपमा जानकारी गराइ अनुमति लिएर मात्रै भारतीय लगायत अन्य मुलुकका प्रधानमन्त्रीले नेपालको भू–भागमा भ्रमण गर्न पाउने पर्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालपानी भ्रमणको बिरोधमा शुक्रवार बुटवलमा भएको बिरोध सभामा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले भारतीय हस्तक्षेप विरुद्व एक हुनुपर्नेमा जोड दिए ।
नेपालको कालापानी क्षेत्रको गुञ्जी गाउंमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कुनै जानकारी नगराई गरेको भ्रमणले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर आंच पु¥याएको अध्यक्ष केसीको भनाई छ ।
राष्ट्रिय जनमोर्चाले मोदीको भ्रमणप्रति कडा विरोध गरेको बताउंदै भारतले नेपालका विभिन्न स्थानको भूमिमा अतिक्रमण गर्दै आएको उनले बताए । कालापानी क्षेत्रमा तैनाथ गरिएका भारतीय सेनालाई नेपालको भूमिबाट हटाउनु पर्ने बताउंदै भारतले आफ्नो साम्राज्यवादी नीति अनुसार नै नेपालप्रति अतिक्रमणकारी व्यवहार गर्दै आएको बताए ।
आफ्नो देशमाथि ठाडो हस्तक्षेप हुंदापनि बोल्न नसक्ने यो सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने धारणा राख्दै उनले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भैरहेको बताए । राजनीति गर्नेहरुबाटै राष्ट्रियता कमजोर भएको र मुलुक आर्थिक संकटमा परेको दावी उनको छ ।
राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले राज्यको सही प्रकारको नीति नभएकाले भारतीय र अमेरिकी साम्राज्यबादी हस्तक्षेप बढेको बताइन । भारतीय प्रधानमन्त्री मोदी नेपालसंग अनुमति नलिइ नेपालको भू–भाग भ्रमण गर्नु गम्भीर विषय भएको भन्दै भारतीय हस्तक्षेप झनै बढेको बताइन ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम र बासुदेव पोखरेलले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादविरुद्व देशभरका राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।