२०८१ भाद्र २४

राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २१, मंगलवार ०८:४० गते

बुटवल  २१ कात्तिक।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने, ‘तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।’ सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुगेका हुन् ।