२०८१ श्रावण १२

बुटवलमा दीपावली महोत्सव हुने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २३, बिहीबार ११:२७ गते

बुटवल २३ कात्तिक ।
बुटवलमा दीपावली महोत्सवको तयारी थालिएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा तीन दिन सम्म महोत्सव गर्न लागिएको छ । यहि कात्तिक २५, २६ र २७ गते हुने तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ को तयारीमा संघ लागेको छ ।


बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको बिहिबार संघ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णय सहित तयारी समिति र मातहतका उपसमितिहरु समेत गठन गरिएको संघका महासचिव मुक्ति अधिकारीले जानकारी गराए । दीपावली महोत्सवको लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा बुटवल उपमहानगरपालिका वडा नं. ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहेका छन् ।
संघका अध्यक्ष हरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ । उक्त समितिमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, तीन वटै वडाका एक एक जना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने क्षेत्रका टोल विकास संस्थाका अध्यक्षहरु सदस्य तथा सदस्य सचिवको रुपमा महासचिव मुक्ति अधिकारी रहेका छन् ।
दीपावली महोत्सव सञ्चालनको लागि ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । फूड फेस्टिवल सहितको दीपावली महोत्सव सम्पन्न गर्नको लागि उद्योग उपाध्यक्ष सुरज भट्टराई संयोजक फूड कोर्ट उपसमिति, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, महासचिव मुक्ति अधिकारी संयोजक रहेको पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेल संयोजक रहेको प्रचार प्रसार उपसमिति र सहकोषाध्यक्ष धनकुमारी खनाल (सविता)संयोजक रहेको सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्यमा कार्यसमिति सदस्यहरु रहेका छन् ।
बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिने छ । बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यवसायिक तथा सामाजिक संघ संस्था तथा आम समुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताको लागि अनुरोध पनि गरेका छन् ।
दीपावली महोत्सवले यस क्षेत्रको व्यापार व्यवसायीलाई चलायमान र प्रवद्धन गर्नुको साथै आर्थिक गतिबिधिलाई समेत चलायमान बनाउन मद्दत गर्ने संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले बताए ।