२०८१ श्रावण १२

तिलोत्तमामा मेलाको तयारी
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २४, शुक्रबार १४:३० गते

बुटवल २४ कात्तिक ।
रुपन्देहीको तिलोत्तमामा मेलाको तयारी गरिएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को तयारी गरिएको हो । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ महोत्सव हुने लागेको हो ।

महोत्सवमा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादन, आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मेला मूल आयोजक समितिका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने बताए ।

मेलामा औद्योगिक प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका ३०० स्टलहरू रहने संयोजक भण्डारीले बताए ।

मेला तथा महोत्सवलाई मनोरञ्जनात्मक बनाउनको लागि लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरूको प्रस्तुति, साङ्गीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरू रहने छ ।
महासचिव राजकुमार पाण्डेयले मङ्सिर १२ गतेसम्म सञ्चालन हुने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा प्रेस सल्लाहाकार खिमानन्द भट्टराई, उद्योग उपाध्यक्ष सुरज पंगेनीले मेलाका बारेमा धारणा राखेका थिए ।