२०८१ श्रावण १२

पार्टीहरुभित्र सुद्धीकरण आवश्यकः कांग्रेस नेता चन्द्र भण्डारी
  • लुम्बिनी खोज
  • २०८० मंसिर १, शुक्रबार १३:३३ गते

बुटवल १ मंसिर ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रत्येक पार्टीभित्र सुद्धीकरण आवश्यक रहेको बताएका छन् । उनले सबै मिलेर मुलुक बनाउनु पर्ने भन्दै सबै मिलेर मुलुक बनाउन लागि परेमा ५ वर्षमा मुलुक बन्ने दावी पनि गरेका छन् । पार्टीहरु सुद्धीकरण गरेर मुलुक बनाउने अभियानमा जुट्नुपर्ने धारणा राखेका छन् ।
शुक्रवार रुपन्देहीको तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०८० को उद्घाटन गर्दै उनले संविधानको उचित कार्यानवयन हुन नसकेको भन्दै उचित कार्यान्वयन तर्फ अगाडी बढ्नुपर्नेमा जोड पनि दिए । मुलुकलाई अराजकता र लुटतन्त्र तर्फ जान नहुनेमा पनि नेता भण्डारीले जोड दिए । कांग्रेस नेता भण्डारीले स्थानिय सरकारहरुले जनतालाई अभिभावकत्व दिनुपर्ने पनि बताए । रुपन्देहीका पालिकाहरुले सस्तोमा औषधी उपलब्ध गराउने कामको शुरुवात गर्न पनि सुझाव दिए । राम्रा काम गर्ने स्थानिय तहका जनप्रतिनिधि भोलि गएर मुलुकको कार्यकारी प्रमुख सम्म बन्न सक्ने भन्दै असल कामको शुरुवात गर्न सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाक, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणलगायतले मेला महोत्सव तथा आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मेला मूल आयोजक समितिका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने बताएका छन् ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहेका छन् ।

मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।