२०८१ श्रावण १२

लुम्बिनी एक्स्पो २०८० तयारीबारे संघसंस्थासंग छलफल, एक्स्पोमा नयाँपन दिन आग्रह
  • लुम्बिनी खोज
  • २०८० मंसिर ७, बिहीबार ११:५८ गते

 

बुटवल, ७ मंसिर ।
रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–२०८० को तयारीका क्रममा विहिवार प्रदर्शनीस्थल बुटवल मण्डपमा रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अहिलेको आर्थिक मन्दीका वेलामा व्यवसायीक प्रर्वद्धन र आर्थिक गतिविधि बढाउन एक्स्पोलाई कोशेढुङगाको रुपमा स्थापित गर्न जोड दिइएको छ । बुटवलमा हुने मेला प्रदर्शनीहरुप्रति देशभरबाट चासो व्यक्त हुने र सिको गर्ने भएका कारण त्यसको स्तर मा बिशेष ध्यान दिएर कार्यक्रम गर्न सुझाव दिदै एक्स्पोलाई भिन्न र आम उपभोक्ताहरुको चाहानालाई पुरा गर्ने गरि आयोजना गर्न सुझाव पनि दिइएको थियो ।
छलफल कार्यक्रमको सुरुवात गर्दै संघका अध्यक्ष तथा एक्स्पो मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले एक्स्पोलाई कसरी राम्रो र व्यवस्थित रुपमा गर्न सकिन्छ भनी सुझाव र सल्लाहा लिनका लागि कार्यक्रमको आयोजना गरेको बताउदै बुटवलमा हुने मेला प्रदर्शनीहरु सबै व्यवसायीक संघसंस्थाहरुको साझा कार्यक्रम हुने गरेकोले सहयोगको अपेक्षा गरेको बताए ।
ग्रामिण तथा कृषि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रर्बद्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेला नेपाली वस्तु प्रयोग गर्न र उद्यमी व्यवसायी बन्न प्रेरक बन्ने विश्वास अध्यक्ष घिमिरे व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेशका अध्यक्ष एजाज आलमले एक्स्पोलाई स्वदेशी उत्पादनको प्रर्वद्धन र पहिचान गराउने गरि आयोजना गर्न आग्रह गर्दै प्रदर्शनीस्थलको निमार्ण कार्यमा भैरहेको ढिलाईले प्रदर्शनीको विविधिकरण आउन नसकेको तथा सञ्चालन खर्च बढी भैरहेको हुदा निमार्णको काम चाडो गर्न दवाव दिनु पर्नेमा जोड दिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले पुराना कमजोरी सुधार गर्दै मेला प्रर्दशनीले आर्थिक तथा व्यवसायीक गतिविधि बढाउन मद्दत पुग्ने भएका कारण त्यसमा विविधिकरण ल्याउन आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले एक्स्पोकोे सफल आयोजनामा सबैको साथ र सहयोग जरुरी भएको कुरामा जोड दिए । उनले बुटवलको मेलाको साख गिर्न नदिने वारेमा आयोजक संस्था गम्भिर बन्नु पर्ने सुझाव दिदै व्यवसायीहरुका हित र आवश्यक्ताहरु पहिचान गरि सहकार्यको वातावरण विगार्न नहुने धारणा राखे ।
कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, ढुवानी व्यवसायी समितिका अध्यक्ष जितबहादुर भाट, हाटवजार व्यवसायी संघका सचिव जयन्तबहादुर घर्ती, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष खड्कबहादुर बस्नेत, वजार व्यवस्थापन तथा विक्रि कर्मचारी संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुली, रुपन्देही व्यापार संघका पूर्व सदस्य छवीलाल शर्मालगायतले
विगतका मेला महोत्सवभन्दा फरकपन दिने गरि वजारलाई आर्थिक रुपमा चलायमान गराउने र आर्थिक दिशालाई अगाडी बढाउन टेवा पु¥याउने थलोका रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालन तथा संघसंस्था समन्वय उपसमितिका संयोजक एवं संघका मानार्थ सदस्य बैकुण्ठ कोइरालाको स्वागतमा सम्पन्न भएको थियो ।
मेला सचिवालय बुटवल मण्डपमा

लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारीका लागि प्रदर्शनी स्थल बुटवल मण्डपमा मेला सचिवालय स्थापना गरि काम अगाडी बढाइएको छ ।
एक्स्पो सम्पन्न गर्न आवश्यक निमार्ण कार्य गर्ने तथा अन्य कामको तयारीका लागि मेलास्थलमा कार्यालय सञ्चालन गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए । प्रदर्शनी स्थलमा सञ्चालनमा आएको सचिवालयबाट एक्स्पोको आवश्यक तयारीका कामहरु भैरहेको कार्यालय प्रमुख पोखरेलले बताए । पोखरेलका अनुसार मेलाको तयारी स्वरुप स्टल दर्ता, आन्तरिक तयारी बैठकहरु, मैदान सम्याउने, स्टल निमार्ण, बाल उद्यान निमार्णको काम सुरु भएको छ । तिहार लगतै एक्स्पोका कामहरु द्रुतगतिमा अगाडी बढेको छ ।
एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोवाइल, सूचना प्रविधिलगायतका ५ सय भन्दा पनि बढी स्टलहरु समावेश गरिने मेलाका सदस्य सचिव तथा संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए ।
एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफलताका साथ सम्पन्न गरि सकेको छ ।