२०८१ श्रावण १२

मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण
  • लुम्बिनी खोज
  • २०८० मंसिर ९, शनिबार १३:०२ गते

कृषि हाम्रो जीवन होः मन्त्री भुसाल
भैरहवा,९ मंसिर ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरी संचालनमा ल्याइएको छ । मर्चवारको २० प्रतिशत क्षेत्र समेट्ने गरी कोटहीमाई गाउँपालिका–४, तुनिहवामा प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्र बनाइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वालम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बीउ प्रशोधन केन्द्र निर्माण गरी संचालनमा ल्याइएको हो ।
प्रशोधन केन्द्रको शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले उद्घाटन गरे । केन्द्रको उद्घाटन गर्दै मन्त्री भुसालले कृषि नेपालीहरुको जीवन भएको बताए । ‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवनचक्र र जीवन हो’, उनले भने, ‘यसैले सरकारले कृषि क्षेत्रबाट उत्पादन बृद्धि, निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।’ उनले सरकारले कृषि क्षेत्रमा उत्पादन बृद्धि गरी गरिबी हटाउने गरी यान्त्रिकरण र बजारीकरण गरिरहेको जनाए ।
उनले कृषि क्षेत्रबाट उन्नती गर्न ७ काम महत्वपूर्ण रहेको बताए । ‘त्यस मध्ये सिंचाई सबै भन्दा महत्वपूर्ण हो । उन्नत बीउ एवम् मलको ब्यवस्था पनि उस्तै महत्वपूर्ण मानिन्छ’, उनले भने, ‘उत्पादन र उत्पादकत्व बृद्धि, यान्त्रिकरण र बजारीकरण प्रभावकारी रुपमा हुनुपर्छ, यसमा सरकार लागिपरेको छ ।’ उनले बजारीकरणलाई सहज होस् भनेर रुन्देहीको सेमलारमा मुलुककै ठूलो कृषि संकलन केन्द्र बनाउन लागिएको जानकारी दिए ।
संघीय सरकारले मलको आयात गर्ने बताउँदै उनले यसको बितरण र ब्यवस्थापन प्रदेश र स्थानीय तहको रहेको भए पनि व्यवस्थित हुन नसकेको जनाए । गत आवमा ४ लाख ७८ हजार मेट्रिक टन मल संघीय सरकारले आयात गरेको र यो मल पर्याप्त रहेको उनले दावी गरे । ‘कति मल चाहिन्छ भनेर सबै प्रदेशले माग गर्छन्, त्यहीअनुसार हामीले आयात गर्छौं, तर सही विवरण नपठाए मल अभाव हुन्छ’, उनले भने, ‘बितरणमा गडबडी पनि भएको छ, मलाइ थाहा छ । त्यस्तालाई कारबाही भएको छ र हुन्छ पनि ।’ उनले सहकारीहरुले कालोबजारी गर्न थालेको खबर आएको जनाउँदै जनप्रतिनिधि लगायत किसानहरु सतर्क हुनुपर्नेमा जोड दिए ।

उनले कोरिया र चीनसँग कृषि क्षेत्रको उन्नती गर्ने उद्देश्यसहित बिभिन्न सम्झौताहरु गरिएको जनाए । सरकार सधै किसानलाई प्रोत्साहन गर्न लागेको बताउँदै कृषि उत्पादन खपत र संकलनका लागि उद्योगहरुको स्थापनालाई समेत जोड दिइएको जनाए ।
मर्चवारको २० प्रतिशत क्षेत्र ओगट्ने गरि प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्रको स्थापन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय भैरहवाका प्रमुख नारायण काफ्लेले जानकारी दिए । यो प्रशोधन केन्द्र संचालनमा आएपछि भारतीय कमसल बीउको प्रयोग रोकिने र उत्पादन र उत्पादकत्व बृद्धि हुने उनको भनाई छ । सहकारीका अध्यक्ष दुर्गाप्रसाद कुर्मीले यस्तै प्रशोधन केन्द्र अझै १–२ वटा थपेमा जिल्ला नै भारतीय बीउबाट मुक्त हुने बताए ।

उनले सबैको साथ र सरकारको सहयोगले आज अन्न भण्डार मर्चवारमा बीउ प्रशोधन केन्द्र स्थापना भएको जनाउँदै नेपाल–भारतका सुरक्षाकर्मीको डण्डा खाएर भारतबाट कमसल बीउ खरिद गर्ने दिनको अन्त्य हुँदै गएको बताए ।