२०८१ श्रावण १२

उद्योग संघको ४६ औं स्थापना तथा औद्योगिक दिवसः उत्कृष्ट उद्योगी र पत्रकार सम्मानित
  • लुम्बिनी खोज
  • २०८० मंसिर १५, शुक्रबार ११:३९ गते

बुटवल, १५ मंसिर ।
रुपन्देही उद्योग संघले आज शुक्रबार आफ्नो ४६ औं स्थापना तथा औद्योगिक दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान, अग्रज उद्यमी, विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ ।
संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७९ पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । दैनिक पत्र र नेपाल प्रेसमा कार्यरत पत्रकार आचार्यलाई ४६ हजार १५५ रुपियाँ नगदसहित सम्मान गरिएको हो ।
त्यसैगरी अग्रज उद्यमीको रुपमा पूर्णप्रसाद सापकोटा, चन्द्रमान श्रेष्ठ र तिलप्रसाद भट्टराईलाई सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट रोजगारदाता उद्योगीको रुपमा डुंगारी गार्मेन्ट उद्योगका यज्ञेश्वर थैव, उत्कृष्ट महिला उद्यमीको रुपमा दिलु् शाही, उत्कृष्ट युवा उद्यमीको रुपमा उपेन्द्र अग्रवाल, उत्कृष्ट कृषि उद्योगीको रुपमा माउन्ट रोजिन एण्ड टर्पेन्टाइन इन्डष्ट्रिजका वसन्त रोका क्षेत्री, जिल्लाभरीका उद्योगहरुमध्ये उत्कृष्ट उद्योगको रुपमा यशोदा फुड्स प्रालिका चुन्नुप्रसाद पौडेल र उत्कृष्ट पर्यटन उद्योगको रुपमा होटल न्यू इरा बुटवलका सञ्चालक माधव नेपाललाई सम्मान गरिएको छ । त्यस्तै सदस्य उद्योगीका छोराछोरी कान्ति माविमा अध्ययनरत विद्यार्थी मधुसुधन मल्ल र जनज्योती माविमा कक्षा ९ मा अध्ययनरत तुलसा गाहालाई १० हजार १५५ नगद र स्टेशनरी तथा झोला छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो ।
त्यसैगरी संघले स्थापना दिवसको अवसरमा मंसिर १३ गते मानव सेवा आश्रममा स्वास्थ्य परीक्षणसहित खाना खुवाउने कार्यक्रम, मंसिर १४ गते रुपन्देहीमा रहेका संघसंस्थाबीच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र मंसिर १५ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरी ६० युनिट रगत संकलन गरी रक्त सञ्चार सेवा केन्द्रमार्फत मानवीय सेवामा समर्पित गरेको छ । स्थापना दिवस समारोहमा ब्याडबिन्टनमा उत्कृष्ट टिमलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा उद्योग संघले खेलेको नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष डम्बरदेव अर्यालले दलहरुको गलत नीतिका कारण अहिलेको व्यवस्थामाथि प्रश्न उठेको र मुलुक झन् झन आर्थिक रुपमा ओरालो लाग्दै गएको भन्दै यसका लागि उद्योगी व्यवसायीहरु चनाखो हुनुपर्ने बताए ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपाल, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल–४ का वडाअध्यक्ष नरिश्वर पौडेल, संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, अग्रज उद्यमी पूर्णप्रसाद सापकोटा, पचिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव हिरामणी भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।