२०८१ श्रावण १२

लुम्बिनीमा लागुऔषध सम्बन्धी सडक नाटक
  • लुम्बिनी खोज
  • २०८० मंसिर १७, आईतवार १३:२३ गते

लुम्बिनी १७ मंसिर ।
रुपन्देहीको लुम्बिनीमा लागु औषध विरुद्धमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले विशेष अभियान थालेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाले लागु औषध सम्बन्धी सडक नाटक आइतबार देखि सुरु गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.९ को खुदावगर माध्यमिक विद्यालय,वडा न.७ को कर्महवा मावि,वडा न.६ को पर्साचोकमा सडक नाटक गरिएको छ । अवध थिएटर रुपन्देहीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थीहरु एवं स्थानियको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलनमानले स्कुले विद्यार्थीहरु, युवा युवतीहरु गलत बाटोमा लाग्न नदिन सहयोग पुग्ने गरी रोकथाम र नियन्त्रणका लागी प्रयास थालिएको बताए । लागुऔषधले मानविय क्षती संगै समाजमा विकृति फैलाउन टेवा दिने बताउँदै प्रमुख मुसलमानले यसको नियन्त्रणका लागी सम्बन्धीत सवै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने बताए ।
बालबालिका भोलीका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नगरपालिका उपमेयर कल्पना हरिजनले बताईन् । अभिभावकले आफना सन्तानहरुलाई बढि हेरचाह गर्नुपर्ने उनले बताइन् ।
नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँले लागुऔषधले व्यक्तिलाई मात्र नभई समाजलाई खराब बनाउने हुँदा यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका न्यायिक समिति सदस्य तथा लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहम्मद हुसेनले समाजमा हुने विकृति धेरै जसो लागुऔषध सेवनले हुने भन्दै यसका विरुद्ध लुम्बिनीका विभिन्न ठाउँमा सडक नाटक गरिने बताए ।
कार्यक्रममा जनप्रतिनिधी,नगरपालिकाका शाखा प्रमुख लगायतको समेत उपस्थिति रहेको थियो । लागुऔषध सम्बन्धी सडक नाटक आगामी मंसिर ३० गते सम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने बताईएको छ ।