२०८१ श्रावण १२

लुम्बिनी एक्स्पो–२०८०ः प्रचारप्रसारलाई व्यापक बनाउन सुझाव
  • लुम्बिनी खोज
  • २०८० मंसिर १९, मंगलवार ०९:१० गते

बुटवल, १९ मंसिर ।
रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०८० को तयारीका क्रममा आन्तरिक छलफल तथा बैठकहरु दैनिक हुने गरेका छन् । एक्स्पो सम्पन्न गर्न गठित उपसमितिहरुको बैठक बसेर आवश्यक तयारीका बारेमा छलफल तथा योजनाहरु तय गर्ने काम भैरहेको मुल आयोजक समितिका सहसंयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले बताए । गठित उपसमितिहरुको एक चरणको बैठक सबै उपसमितिहरुले सकेको भण्डारी जानकारी दिए ।
यसैक्रममा एक्स्पोको महत्वपूर्ण उपसमिति प्रचारप्रसार उपसमितिको बृहत बैठक सम्पन्न भएको छ । एक्स्पो आयोजना स्थल बुटवल मण्डपमा बसेको बैठकले एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न प्रचारप्रसारको महत्वपूर्ण भूमिका हुने हुदा त्यसलाई व्यवस्थित र व्यापक रुपमा गर्न पहल गर्ने निर्णय गरेको छ । एक्स्पो आयोजना हेर्न आउने दर्शकहरुलाई आयोजकका विशेषताहरुसहित सामाग्री सबै प्रचारका माध्यमहरु प्रयोग गर्दै अगाडी वढ्न बैठकमा सुझाव आएको उपसमितिका संयोजक फर्सुराम पन्थले बताए ।
बैठकले पछिल्लो समयमा विकास भएको डिजिटल प्रविधि र सामाजिक सञ्जाललाई प्रयोग गरि त्यसमा एक्स्पोको प्रचार सामाग्रीहरु व्यापक रुपमा पु¥याउन पहल गर्ने, पत्रिका, रेडियो, टिभी, अनलाईनलगायतका सञ्चार माध्यमहरुमा सामाचार, लेख रचना, फिचर, अन्तरवार्ता, विज्ञापनहरु धेरैभन्दा धेरै प्रकाशित एवं प्रसारित गर्ने बातावरण सिर्जना गर्ने निर्णय गरेको छ । बैठकमा एक्स्पो आयोजना अवधिभर मौलिक प्रकारले लेख रचना तथा फिचर लेखन, रेडियो तथा टिभीहरुमा रिर्पोट अन्तरवार्ता प्रकाशन एवं प्रसारण गर्ने सञ्चारकर्मीहरुलाई पुरस्कृतको व्यवस्था मिलाउन सुझाव आएको संयोजक पन्थले बताए ।
बैठकमा मुल अयोजक समितिका संयोजक तथा संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक्स्पो भव्य रुपमा सम्पन्न गर्न मिडियाको महत्वपूर्ण भूमिका रहने हुदा सहयोग गर्न आग्रह गर्दै सबैले आयोजनालाई आफ्नो सम्झेर गर्नु पर्ने काम तथा जिम्मेवारी वाडफाड अनुसार भूमिका निर्वाह गर्न अनुरोध गरे ।
अध्यक्ष घिमिरेले सञ्चार माध्यमहरुको सहयोग विना एक्स्पो सफल हुन सक्दैन भन्ने कुरामा आफुहरु जानकार रहेको भन्दै प्रचारप्रसारका सबै क्षेत्रहरुको प्रयोग गर्दै कमीकमजोरीमा सुझाव दिदै सहाकार्य र सहयोगी बनिदिन आग्रह गरे ।
बैठकमा एक्स्पोका सदस्य सचिव तथा संघका महासचिव दयानिधि भण्डारीले एक्स्पोको तयारी र हालसम्म गरिएका कामका बारेमा जानकारी गराउदै प्रचारप्रसार उपसमितिले एक्स्पोमा निर्वाहा गर्नु पर्ने भूमिका र जिम्मेवारीलाई उत्कृष्ट बनाउन सुझाव दिए ।
प्रचारप्रसार उपसमितिका संयोजक एवं संघका सचिव फर्सुराम पन्तको अध्यक्षता तथा स्वागतमा सम्पन्न भएको बैठकमा प्रेस चौतारी, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका अध्यक्ष कविन्द्र नेपालले एक्स्पोको प्रचारप्रसार गर्ने शसक्त माध्ययम भनेका मिडियाहरु र सञ्चारकर्मीहरु भएका कारण उनिहरुको उचित सम्मान र समन्वयमा आयोजकहरुलाई विचार पु¥याउन सुझाव दिएका थिए । बैठकमा विभिन्न वस्तुगत समितिका संयोजकहरुले भनाई राखेका थिए ।
कार्यक्रम हार्डवयर उपसमितिका संयोजक विष्णु पाण्डेको सञ्चालनमा भएको थियो ।
प्रदर्शनी स्थलमा एक्स्पोको आवश्यक तयारीका काम अन्तरगत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको छ । एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ५ सय भन्दा बढी स्टलहरु समावेश गरिने छ ।
एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलासफलताका साथ सम्पन्न गरि सकेको छ ।