२०८१ श्रावण १२

बुटवलमा हुने लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलामा १० लाख दर्शक, ५० करोडको कारोबारको अपेक्षामा आयोजक
  • लुम्बिनी खोज
  • २०८० मंसिर २०, बुधबार ११:५३ गते

व्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा
बुटवल, २० मंसिर ।
रुपन्देही व्यापार संघले पुष ५ गतेदेखि बुटवलमा गर्न लागेको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी तीव्र पारिएको छ । ५ सय भन्दा पनि बढि स्टल सहभागिता गराउने गरी आयोजक जुटेका छन् । १० लाख बढि दर्शकले अवलोकन तथा करिब ५० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा राखेको आयोजकले बताएका छन् ।
संघले बुधवार बुटवलमा पत्रकार सम्मेलन गरी मेलाको तयारीका बारेमा अवगत गराएको छ । आयोजकले मेलाबाट आर्थिक मन्दी र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा लिएको पनि बताएका छन् ।
संघले देशको अर्थतन्त्र, व्यापार व्यवसाय विना चलायमान हुन नसकेको अवस्थामा थला परेको अर्थतन्त्रलाई चलायमान गराउने एउटा प्रयास भएको बताउदै समग्रमा प्रदर्शनी, मेलाका स्वरुप र लक्ष्य एकै प्रकारका हुने गरेको भएपनि एक्स्पोलाई फरक शैली र सहभागिताका आधारमा भिन्न बनाउने प्रयासमा रहेको जनाएको छ ।
प्रर्दशनी स्थल बुटवल मण्डपमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं एक्सपो मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले एक्स्पोलाई संस्थागत हितमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व अन्तरगत पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
स्थायी प्रदर्शनी स्थलमा बन्दै गरेको आधुनिक प्रर्दशनी केन्द्रमा फरक शैलीमा गर्न गैरहेको मेला क्षमताले भ्याएसम्म राम्रो र नयाँ बनाउने प्रयास गरेको संघले जनाएको छ । एक्स्पोमा अन्तर्राष्ट्रिय स्टलहरुमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिताका लागि आमन्त्रण गरिएको जनाइएको छ ।
संघका अध्यक्ष घिमिरेले व्यावसायिक विविधताको केन्द्र लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक, शैक्षिक तथा यातायातको शहर बुटवलमा हुने मेलाले यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । एक्स्पोका क्रममा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गरिने उनको भनाई छ ।
पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्दै एक्स्पोको सफलतामा सञ्चारजगतको भूमिकालाई नजर अन्दाज नगर्न आग्रह गरे । लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटवलमा व्यापारलाई आधुनिकीकरण, विशिष्टिकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरुको हकहितको संरक्षणका लागि सक्षम, सुदृढ, प्रतिस्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ वि.सं.२०५७ सालमा स्थापित संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नारा मा यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको छ ।
एक्स्पोको उद्घाटन अगाडी बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने तथा व्यवसायीक संघसंस्थाहरुका सहभागितामा झाँकी सहित जनचेतनामूलक ¥याली निकाल्नुका साथै मेला अवधिमा मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम अन्तरगत लोक दोहोरी, डान्स आइडियल, लोक नृत्य, विद्यालय स्तरिय नृत्य लगायत प्रतियोगिता एवं चर्चित कलाकारहरुको प्रस्तुति समावेश गरिने जनाइएको छ ।
एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, हस्तकलाका उत्पादन, फर्निचर तथा फर्निसिङ्गका सामाग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेण्ट लगायतका स्टल रहने छन् ।
एक्स्पोको तयारीका लागि कात्र्तिकको तेश्रो सातादेखि संघको सचिवालय मेला स्थल बुटवल मण्डपमा स्थापना गरि एक्स्पोका आवश्यकीय कार्यहरु जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरु गर्दै आएका छ ।
रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको एक्स्पोमा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, र बुटवल उपमहानगरपालिका, बुटवल रहेका छन् ।
एक्स्पोलाई सफल बनाउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति निमार्ण गरिएको छ भने विभिन्न विषयक ४५ वटा उपसमिति गठन गरिएको छ ।
पत्रकार सम्मेलन मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सचालन तथा संघका सचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक फर्सुराम पन्तको स्वागतमा भएको थियो ।