२०८१ श्रावण १२

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै भैरहवाको विमानस्थलमा धर्ना
  • लुम्बिनी खोज
  • २०८० मंसिर २४, आईतवार १०:२८ गते

भैरहवा २४ मंसिर ।
भैरहवा स्थीत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै उद्योगी ब्यवसायीले धर्ना दिएका छन् । रुपन्देहीका उद्योगी–व्यवसायीले विमानस्थलअगाडि धर्ना दिएका छन्।

विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण जनदबाब र्‍याली तथा विरोध प्रदर्शन गरेका उनीहरूले आज विमानस्थलअगाडि धर्ना सुरु गरेका हुन् ।
रुपन्देहीमा रहेका करिब ३२ वटा संघसंस्थाको नेतृत्व गरेको सिद्धार्थ सञ्जाल रुपन्देहीले आयोजना गरेको धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।

धर्नामा उद्योगी–व्यवसायीले श्रम स्वीकृति कार्यालय पूर्ण रूपमा सञ्चालन गर, भिसा सेन्टर कार्यालय पूर्ण क्षमतामा सञ्चालन गर, स्वास्थ्य परीक्षण संस्था पूर्ण रूपमा दक्ष जनशक्तिसहित सञ्चालन गर, भैरहवामा मेनपावर कार्यालय स्वीकृत गर, रोजगारमा जाने सबैलाई तालिमको व्यवस्था गर, अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्युआरसहितको खोप केन्द्र स्थापना गर, नेपालको सबै ठाउँमा आन्तरिक उडान गर, अन्तर्राष्ट्रिय सबै एयरलाइन्स उडान गर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गरलगायतका माग राख्दै धर्ना दिएका छन्।

धर्ना कार्यक्रममा उद्योगी व्यवसायी, सर्वसाधारण, जनप्रतिनिधि, प्रदेश सांसद, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयलगायतको सहभागिता थियो।