२०८१ श्रावण १२

मोतिपुर औद्योगिक क्षेत्र र सेज सम्बन्धमा उद्योग संघमा छलफल
  • लुम्बिनी खोज
  • २०८० मंसिर २४, आईतवार १२:३१ गते

अर्थतन्त्रलाई चलायमान बनाउन ठोस नीति र विधि बनाउन उद्योगीहरुको आग्रह

बुटवल, २४ मंसिर ।
नयाँ औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक वातावरण र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठोस निति र विधि बनाउदै अगाडी बढ्न रुपन्देहीका उद्योगीहरुले राज्यसँग आग्रह गरेका छन् । रुपन्देही उद्योग संघले आइतवार बुटवलमा गरेको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण र सेजको संचालनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले लामो समयसम्म नया औद्योगिक क्षेत्रहरु निमार्ण नहुदा र भएका औद्योगिक क्षेत्रहरुको सहि व्यवस्थापन नहुदा जग्गा अभावमा उद्योगहरुले समस्या झेल्नु परेको गुनासो पनि गरेका छन् ।
औद्योगिक विकासका लागि नीतिगत निर्णयहरु कार्यान्वयनमा राज्यले ध्यान दिनुपर्नेमा जोड पनि दिएका थिए । उनीहरुले लामो समयसम्म पनि नयाँ औद्योगिक क्षेत्रहरु स्थापना गर्न नसक्नु औद्योगिक विकासको लागि राम्रो संकेत नभएको बताउँदै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडी बढाउन र बन्द धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।
नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेश अध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले मोतीपुर औद्योगिक क्षेत्रमा देखिएका समस्या एकै पटक समाधान हुन सक्ने अवस्था नभएका कारण सहज रहेको क्षेत्रबाट काम अगाडी बढाउन आग्रह गरे । सो क्षेत्रको कामलाई अगाडी बढाउनका लागि नीजि क्षेत्रको दवावमुलक पहल जरुरी रहेको आलमको भनाई थियो ।
कार्यक्रममा विषयवस्तु राख्दै संघका अध्यक्ष दिलिप सापकोटाले यस क्षेत्रमा नयाँ औद्योगिक क्षेत्रको निकै जरुरी भएको र त्यसको समाधानका लागि अगाडी बढाइएको मोतीपुर औद्योगिक क्षेत्रको निमार्णमा देखिएको अवरोधलाई समाधान गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई अनुरोध गरे । बु्टवल धागो कारखानाको व्यवस्थापन र भैरहवा स्थित सेज संचालनका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण हुनुपर्नेमा उनले जोड पनि दिए ।
कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केन्द्रीय अध्यक्ष बाबुराम पन्तले आफु नेत्तृत्वमा आएसँगै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना संचालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रको कामलाई प्राथमिकतामा राखेको बताए । बुटवल धागोलाई पुनः संचालनमा ल्याउन वा त्यसको स्थानमा नयाँ उद्योग संचालन गर्ने विषयलाई आफुले सम्बन्धित निकायमा स्पष्टसँग कुरा राखेको बताउँदै खाली रहेको जग्गाको सदुपयोग गर्ने कुरामा छिट्टै निर्णय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका सम्बन्धमा भएको प्रगतिका बारेमा पनि जानाकारी गराएका थिए ।
कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष पन्तले सेजमा देखिएका समस्या समाधान गरी उद्योग मैत्री वतावरण निर्माण गर्नेतर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अगाडी बढेको जनकारी गराए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष डम्मरदेव अर्याल, गणेश प्रसाद अधिकारी, बाबुराम बोहोरा, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, महासचिव हिरामणी भट्टराई, उद्योगी भुपाल कुमार श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष उपेन्द्र अग्रवाल, पञ्चकन्या ग्रुपका महाप्रवन्धक देवेन्द्र शाहु, रत्नहरि गौतम लगायतले उद्योग क्षेत्रका बारेमा चर्चा गरेका थिए ।