२०८१ श्रावण १२

खाली आँखाले नै सयौँ उल्का खसेको रमाइलो दृश्य देखिने
  • लुम्बिनी खोज
  • २०८० मंसिर २७, बुधबार १३:१९ गते

 

 

तस्वीर तथा समाचार बीबीसीको नेपाली अनलाइनबाट

 

आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने जेमिनिड्स उल्कावर्षा बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ।
यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ। नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का देख्न सकिन्छ।
संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई वर्षको उत्कृष्ट उल्कावर्षा भनेको छ।
जेमिनिड्स उल्कावर्षा के हो ?
प्रायः उल्कावर्षाको स्रोत धूमकेतु हुन्छ। तर उत्पत्तिको दृष्टिकोणले जेमिनिड्स उल्कावर्षा अलिक भिन्न छ। यो उल्कावर्षा ३२०० फेइअथनु नामक चट्टानी क्षुद्रग्रहले अन्तरिक्षमा छोडेको अवशेषबाट हुन्छ।
धूमकेतु वा क्षुद्रग्रहको बाटोमा पृथ्वी पुग्दा उल्का निस्किन्छ। उल्का पृथ्वीको वायुमण्डलमा आइपुग्दा जल्छ र त्यसबाट आकाशमा उज्याला र हेर्दा सुन्दर देखिने रेखाहरू बन्छन्।

आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्कावर्षालाई जेमिनिड्स भनिएको हो।
यूकेको ग्रिनिचस्थित रोयल अब्जर्भेटरीका अनुसार उल्का विभिन्न रङ्गका हुने भएकाले जेमिनिड्स अरूभन्दा भिन्न देखिन्छ।
यो उल्कावर्षा किन रङ्गीन देखिन्छ ?
उल्काको रङ्ग सेतो, पहेँलो, हरियो, रातो वा नीलो हुन्छ। जेमिनिड्स उल्कामा हुने सोडिअम र क्याल्सिअमजस्ता धातुका कारण त्यस्तो रङ्ग निस्किन्छ। आतिसबाजी गर्दा बारुद जल्दा पनि त्यस्तै हुन्छ।
यो उल्कावर्षा एउटा सुन्दर रात्रिकालीन घटना हो जसमा धेरै उल्काहरू आकाशको उही क्षेत्रबाट आएको देखिन्छ, यूनिभर्सिटी अफ वारिकमा खगोलशास्त्र तथा एस्ट्रोफिजिक्स प्राध्यापन गर्ने डा मिन्जेइ किम बताउँछन्।
उल्कावर्षा कसरी र कति बेला हेर्ने ?
राति आकाशमा जुनसुकै ठाउँमा पनि उल्का देख्न सकिन्छ। आकाश राम्ररी देखिने गरी खुल्ला भएको बेला र अँध्यारो ठाउँमा बस्दा जेमिनिड्स उल्कावर्षाको रमाइलो दृश्य हेर्न सहज हुन्छ।
केही दिनअघिदेखि नै जेमिनिड्स उल्कावर्षा सुरु भइसकेको छ। यूकेमा बिहीवार राति जीएमटी ७ः३० बजेतिर यो उल्कावर्षा उत्कर्षमा पुग्न थाल्ने अनुमान गरिएको छ।
नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि त्यो अवधि सुरु हुन्छ।
वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा जयन्त आचार्य भन्छन्, नेपालमा बिहीवार मध्यरातपछि बिहानीपख ३–४ बजेतिर उल्का खसेको दृश्य राम्ररी देख्न सकिन्छ।
आकाशमा मिथुनराशि भएको ठाउँ पत्ता लगाए उल्कावर्षा हेर्न सजिलो हुन्छ

आकाशमा कतातिर हेर्ने ?
जेमिनिड्स उल्कावर्षा हेर्न आकाशको कुन भागतिर फर्किने भन्ने निधो गर्न स्टारगेजिङ एप उपयोगी हुने किमको सल्लाह छ। यदि तपाईँले मिथुन तारामण्डल ठम्याउनुभयो भने यो उल्कावर्षा हेर्न सजिलो हुन्छ, उनले भने।
अन्धकारमा आँखालाई अनुकूल बनाउन केही समय लिन पनि उनले सुझाएका छन्। उनका अनुसार सँगै अर्को साथी भयो भने आकाशका विभिन्न भाग नियाल्न सजिलो हुन्छ।
कारणवश उत्कर्षमा पुगेको बेला जेमिनिड्स देख्न सकिएन भने पनि आगामी साता डिसेम्बर २० सम्म उल्कावर्षा जारी रहन्छ।

तस्वीर तथा समाचार बीबीसीको नेपाली अनलाइनबाट