२०८१ श्रावण १२

रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काममा तीव्रता
  • लुम्बिनी खोज
  • २०८० मंसिर २९, शुक्रबार १३:०८ गते

बुटवल २९ मंसिर ।
रुपन्देहीको तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान निर्माणको काममा तीव्रता दिइएको छ । ४० करोडको निजी लगानीमा ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान निर्माणाधीन अवस्थामा छ। काम थालेको छोटो समयमै कामले गति लिएको पाइएको छ ।

तिलोत्तमा नगरपालिकाको– १७ पूर्वदरखसवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानका पहिलो चरणका कामहरू सम्पन्न भएको छ।
रुपन्देहीको तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको काम करिब ६ महिनाअघि सुरु भएको थियो। जग्गा खरिद प्रक्रिया २ वर्ष अघि शुरु गरेपनि निर्माणको लागि गत जेठ २९ गते शिलान्यास गरिएको थियो ।
मैदान निर्माणको अवस्थाबारे जानकारी दिन क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एक्स्ट्रा ओभल प्रालिका निर्देशक विनोद कुँवरले मैदानभित्रका अधिकांश काम सम्पन्न भएको बताए।
उनका अनुसार १ फागुनदेखि प्रतियोगिता सञ्चालनका लागि मैदान तयार हुँदै छ। उनले भने, ‘निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्ने गरी मैदान तयार हुन्छ। दोस्रो चरणमा मैदानबाहिरका संरचनाहरू बनाउने काम भइरहेको छ।’
तीन हजार ट्रिपर माटो राखेर मैदान सम्याइएको र मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ।
मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ। मैदानमा सातवटा पिच तयार भएका छन्। साइड स्क्रिनको काम यो हप्तामै सम्पन्न हुने तयारीमा छ।

माघबाट दोस्रो चरणको काम सुरु हुने र यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको निर्माण तथा पाँच हजार क्षमताको प्याराफिटसमेत निर्माण सुरु हुने कुँवरले बताए। प्रत्येक वर्ष पाँच हजार दर्शक क्षमता थप्दै चार वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

खेलमैदानको निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले निजी क्षेत्रको लगानीमा निर्माण गरेर सरकारलाई सहयोग भएको बताए। पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा ब्रान्ड एम्बेसडर शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर सञ्चालन हुने जानकारी गराए।