२०८१ श्रावण १२

सिद्धबाबा सुरुङमार्गको कामलाई तीव्रता दिन मन्त्रीको निर्देशन
  • लुम्बिनी खोज
  • २०८० मंसिर ३०, शनिबार १३:४६ गते

बुटवल ३० मंसिर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । कामले गति नलिएको भन्दै असन्तुष्टी ब्यक्त गरेका उनले कामलाई तीव्रता दिन निर्देशन दिएका हुन्।
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै उनले काममा कुनै पनि लापरबाही नगर्न निर्माण व्यवसायीलाई सचेत पनि गराए।
‘अहिले ८र९ प्रतिशत मात्रै काम काम भएको छ। कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’, मन्त्री ज्वालाले भने।

मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्धारसहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो।
यस्तै मन्त्री ज्वालाले बुटवल(नारायणगढ सडकखण्डको पनि शनिबार निरीक्षण गरेका छन्। सडक निर्माण समयमा पूरा नहुँदा नागरिकले सास्ती पाएको विषयमा जनगुनासो व्यापक भएकाले आफू निरीक्षणमा आएको उनले बताए।