२०८१ श्रावण १२

बुटवलमा फागुनमा कृषि मेला हुने
  • लुम्बिनी खोज
  • २०८० पुष ३, मंगलवार १२:३२ गते

 

बुटवल ३ पुस ।
बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२ औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागिएको हो ।
प्राङगारिक खेतीको विकास, प्रवद्र्धन तथा कृषिमा व्यवसायीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले विशिष्टिकृत ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला –२०८०’ गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले बताए ।
२०६२ सालमा पहिलो पटक कृषि मेला गरेको बुटवल उद्योग वाणिज्य संघले त्यस यता नियमित रुपमा विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको छ । कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि विशिष्टीकरण मेलाको रुपमा २०६२, २०६४, २०६६, २०६८, छैठौ राष्ट्रिय प्रांगारिक कृषि मेला–२०६९, २०७१, २०७२, एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४, २०७५, २०७८ र २०७९ गरी ११ औं कृषि मेला गरिसकेको छ ।
यो मेला १२ औं संस्करणको कृषि मेला हो । त्यसको निरन्तरतासंगै कृषि प्रविधिको प्रयोग, प्राङ्गारिक कृषिमा व्यवसायिक विकास, कृषिमा लगानी आकर्षण गरी युवा सहभागिता तथा प्राङ्गारिक उत्पादनमा उपभोक्ताको आकर्षण बढाउनको लागि पनि यो पटक राष्ट्रिय स्तरको प्राङ्गारिक कृषि मेला गर्न लागिएको उनले बताए ।
संघले यस क्षेत्रको आर्थिक विकासका लागि उद्योग वाणिज्य, कृषि तथा पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न प्रकारका प्रबद्र्धनात्मक कार्यहरु सञ्चालन गर्दै आएको बताउँदै उनले विगतको मेलाले कृषिको व्यवसायिक विकासमा सहयोग पुगेको दावी गरे ।
कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणमा टेवा पुग्ने, कृषिमा आधारित उद्योगहरुको बजार विकास, उपभोक्ता माझ स्थानीय कृषि उत्पादनको प्रचार–प्रसार, बजार पहिचान, आयात प्रतिस्थापन तथा निर्यात सम्भावनाको पहिचान, रैथाने तथा प्राङ्गारिक वस्तुहरुको महत्व तथा बजार बिस्तारमा यो मेलाले भूमिका खेल्ने संघका महासचिव मुक्ति अधिकारी बताउछन् ।
कृषि उत्पादन, प्रविधि, माछा तथा पशुपंछी समेतगरी बढीमा १५० स्टल सहभागि गराउने र कृषि मेलामा कृषि उत्पादनमा आधारित फूड फेष्टिवल पनि गरिने उनले बताए ।