२०८१ श्रावण १२

बुटवलमा लुम्बिनी एक्स्पोको तयारी, १० लाख दर्शक र ५० करोडको कारोवार हुने अपेक्षामा आयोजक
  • लुम्बिनी खोज
  • २०८० पुष ३, मंगलवार १४:०९ गते

बुटवल, ३ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी गरिएको छ ।
संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागेको हो । यही पुस ५ देखि १८ गतेसम्म निमार्णाधीन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र बुटवल मण्डपमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक मूल समिति संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । मेलाको करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने आयोजकले अनुमान गरेका छन् ।
एक्स्पोलाई सफल बनाउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति र विभिन्न विषयक ४५ वटा उपसमिति क्रियाशिल रहेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेलाका लागि ६०० स्टल दर्ता भैसकेको जानकारी गराइएको छ । लक्ष्यअनुसार स्टल सहभागी भएको अध्यक्ष घिमिरेले बताए ।
मेलाका लागि होटल तथा रेष्टुरेन्ट २३, उनी, गार्मेन्ट तथा तयारी पोशाक, अन्तर्राष्ट्रिय स्टल १०, कृषि ४३, ब्याग जुत्ताचप्पल ६८, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी ७८, श्रृंगार, उपहार तथा खेलौना ५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान ५३, बैंक÷वित्तिय संस्थाएवं शैक्षिक संस्था १८, अटोमोवाइल्स, लुुब्रिकेशन, टायर तथा पार्टस् ६,आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स १६, आइसक्रिम तथा बेकरीज १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस ८ र औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहने छन् ।
संयोजक घिमिरेका अनुसार कृषि, महिला उद्यमी एंव सामाजिक संघसंस्थाहरुलाई निःशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको छ । एक्स्पो उद्घाटनको पुर्व सन्ध्यामा मेलास्थल बुटवलमण्डपबाट बिभिन्न जातजाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥यालीको आयोजना गरिने छ । ¥यालीले बुटवल बजार परिक्रमा गर्ने छ । जनचेतना ¥यालीमा सहभागी उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको घिमिरेले बताए ।
संघका महासचिव दयानिधि भण्डारीले एक्स्पोमा सहभागी हुन आउने दर्शकहरुलाई आकर्षण र मनोरञ्जन प्रदान गर्न चर्चित राष्ट्रिय, स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताए ।
उनका अनुसार सांस्कृतिक कार्यक्रमतर्फ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, डान्स आइडल प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ¥याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गरिने छ ।
एक्स्पोमा सुरक्षातर्फ निजी सुरक्षा कम्पनीको सहभागितामा एक्स्पोको तर्फबाट आवश्यकता अनुसार सुरक्षा प्रवन्ध मिलाइएको र सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती रहने आयोजकले जानकारी दिएको छ । एक्स्पोको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न स्थानमा सिसि क्यामेराको समेत व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मेलाको सफलताका लागि सञ्चारकर्मीको सकारात्मक सहयोग रहने भन्दै मेलामा उपभोक्ताको हित र सुरक्षालाई ध्यान दिन सुझाव दिए ।