२०८१ श्रावण १२

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै
  • लुम्बिनी खोज
  • २०७८ माघ २३, आईतवार ०७:४७ गते

बुटवल,२३ माघ । आज सरस्वती पूजा, अर्थात् श्रीपञ्चमी देशभर विद्याकी देवी सरस्वतीको आराधनासहित पूजाआजा गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । आज संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आज साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ ।  प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा–आराधना गर्दै छन् ।   यस वर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा गरिँदै छ।

यस अवसरमा हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ । वसन्त श्रवणका लागि बिहान १०:३० बजेको साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमानढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

यो पाठ १५ श्लोकको रहेको छ । आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ ।