२०८१ श्रावण १२

सक्षम न्यायपालिकाको लागि कानून व्यवसायी समेत दक्ष हुनुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८० पुष १०, मंगलवार १३:५६ गते

कानून व्यवसायीहरुका लागि सात दिने तालिम

बुटवल, १० पुस ।
नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सक्षम न्यायपालिकाको लागि कानून व्यवसायी समेत दक्ष हुनुपर्ने बताएका छन् ।
नेपाल कानून व्यवसायी परिषद् लुम्बिनी प्रदेश सम्पर्क कार्यालय बुटवलद्वारा बुटवलमा आयोजित लुम्बिनी न्याय बाटिकाको विमोचन तथा लुम्बिनी प्रदेशका कानून व्यवसायीहरुका लागि सात दिने तालिम शुभारम्भ कार्यक्रममा बोल्दै घिमिरेले निष्पक्ष न्याय सम्पादनका लागि योग्य र दक्ष कानून ब्यवसायीको आवश्यकता पर्ने बताए ।
न्यायपरिषद्का पूर्व सदस्य वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानले शिक्षा प्रणालीको कमजोरीले गर्दा संघीयता कमजोर देखिएको बताए । बिना अभ्यास प्रखर बन्न नसकिने भन्दै उनले ज्ञान प्राप्त गर्ने होइन ज्ञान बाँड्न जरुरी रहेको बताए ।
नेपाल बार काउन्सिलका पार्षद वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले स्वतन्त्र र निष्पक्ष न्यायपालिका अपरिहार्य भए जस्तै कानून व्यवसायी पनि सक्षम हुनुपर्ने औंल्याए ।
कार्यक्रममा रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा.श्रीप्रकाश उप्रेती, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डाक्टर बुद्धबहादुर थापा, नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता पशुपति भण्डारी, भारत उत्तर प्रदेश बार काउन्सिलका प्रतिनिधि दिव्य प्रकाश शुक्ला, बार काउन्सिलका पूर्व पार्षद तथा वरिष्ठ अधिवक्ता शालिकराम बञ्जाडे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले न्याय तथा कानुन क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
नेपाल कानून व्यवसायी परिषदका पार्षद अधिवक्ता बाबुराम पाण्डेको अध्यक्षता, उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष कैलाशचन्द्र ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उच्च अदालत बार एशोसिएशन तुलसीपुरका अध्यक्ष गोकर्ण खत्रीले गरेका थिए । सात दिने तालिममा लुम्बिनी प्रदेशका १५ बार एकाईका ३५ जना कानून व्यवसायी सहभागी छन् । सो अवसरमा अधिवक्ता बाबुराम पाण्डेको सम्पादनमा प्रकाशित लुम्बिनी न्याय बाटिका पुस्तकको लोकार्पण गरिएको थियो ।