२०८१ श्रावण १२

बैशाखमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन
  • लुम्बिनी खोज
  • २०८० पुष १८, बुधबार १०:१३ गते

काठमाण्डौं १८ पुस ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी १६ र १७ वैशाखमा काठमाडौंमा आयोजना हुने भएको छ। यसअघि उक्त सम्मेलन ९ र १० वैशाखमा आयोजना हुने तय भएको थियो।

सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले जानकारी दिए।
लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक आज अर्थ मन्त्रालयमा बस्दै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित निर्देशक समितिले सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने तथा सम्मेलनको समग्र पक्ष हेर्ने जिम्मेवारी पाएको छ।

परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति, पर्यटन, उद्योग, कृषि, सहरी, संघीय मामिलालगायत विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थसचिव, उद्योगसचिव र निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष निर्देशक समितिमा रहेका छन्।

निर्देशक समितिको पहिलो बैठक गत मंसिर १० गते बसेको थियो। उक्त बैठकले सम्मेलनअघि सम्भावित लगानीकर्तासँग द्विपक्षीय छलफल गरी वास्तविक लगानीकर्ता पहिचान गर्ने र आयोजनामा प्रस्ताव आह्वानदेखि लगानी स्वीकृतसम्मको प्रक्रियामा सरकारले सहजीकरण गर्ने गरी तयारी थाल्न निर्देशन दिएको थियो।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी तथा संरचनागत सुधार, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत भइरहेको छ। लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भनेर छनोटको काम पनि अहिले चलिरहेको छ।